धनकुटा २० फागुन ।
छथर जोरपाटीका जेष्ठ नागरीकहरुलाई फागुन २३ गतेबाट कोरोना भ्याक्सिन दिर्ईने भएको छ ।
पालिका स्वास्थ्य शाखाले बिहिबार खोप सम्न्वय समितिका संयोजक तथा पालिका अध्यक्ष शेर बहादुर लिम्बूको अध्यक्षतामा सरोकारवालाहरुको भेला गरेर उक्त जानकारी दिएको छ ।
३ दिन सम्म सन्चालन हुने भ्यासिन कार्यक्रमका लागि स्वास्थ्य शाखाले पालिका र सबै ६ वटै वडा स्तरमा तयारी पुरा भएको जानकारी दिएको छ ।
पहिलो चरणको तेश्रो प्राथमिकताको उक्त खोप यस अघि नेपाल सरकारले ५५ बर्ष माथि भनेपनि पछिल्लो निर्देशन अनुसार ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई खोप दिन लागिएको पालिकाले जानकारी दिएकोे छ ।
पालिकाको १६ वटा खोप केन्द्र मार्फत् पालिकामा रहेका ११७७ जेष्ठ नागरीकहरुलाई लक्षित गरेर खोप दिईने स्वास्थ्य शाखाका संयोजक सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।
जेष्ठ नागरिकहरुलाई दिन लागिएको उक्त खोप बेलायतको अक्सफोर्ट युनिभर्सिटीमा बिकास गरी बिश्व स्वास्थ्य संगठनले आपतकालिन अबस्थाका लागि अनुमति दिएपछि भारतको अनुदानमा नेपालमा दिन लागिएको हो ।
सबै प्रकारका खोप झै यो खोप लगाएपछि कसै–कसैलाई केहि लक्षण देखा पर्ने भएपनि खोप पूर्ण रुपमा सुरक्षित रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यो खोप गर्भवती महिला,सिकिस्त बिरामी,कोरोना संक्रमणको अवधिमा रहेका,केहि मुटुको बिरामी र १८ बर्ष मुनिकालाई लगाउन मिल्दैन ।
निश्चित तापक्रममा एक पटकमा १०जनाका लागि खोलेको औषधी ६ घण्टा पछि प्रयोग गर्न नमिल्ने भएकाले जेष्ठ नारिकहरुलाई खोपको अवसर दिलाउनका लागि स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष भीमकला श्रेष्ठ,प्रशासन शाखा अधिकृत नेत्रबहादुर श्रेष्ठ,सुरक्षा निकाय,स्वास्थ्य संस्था,जेष्ठ नागरीक,बिद्यालयका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।
जेष्ठ नागरिकहरु खोप लाउने ठाउँ सम्म जान कठिन हुने भएकाले घरपरिवार र सरोकारवाला सबैको सहयोगका लागि पालिका अध्यक्ष लिम्बूले कार्यक्रम मार्फत् आग्रह गर्नुभएको छ ।