महालक्ष्मीका ४० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया।

50Shares

धनकुटा, ११ चैत ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरका क्रममा मोतियाविन्दुको समस्या पत्ता लागेका ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरी महालक्ष्मी नगरपालिकाले नगरका ९ वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरेर मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको हो ।

फागुन १४ देखि २२ गतेसम्म वडाहरुमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । शिविरमा ६ सय ६९ जनाको आँखा जाँच गर्दा ८१ जनामा मोतियाविन्दुको समस्या देखियो । जसमध्ये अप्रेशन गर्न चाहने ४० जनालाई जितपुरस्थित महालक्ष्मी आधारभूत अस्पतालमा ल्याएर मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनु भयो ।

रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न विरामीहरुलाई अस्पतालसम्म ल्याउँने र पुर्याउँने व्यवस्थासमेत नगरपालिकाले नै मिलाएको थियो । निःशुल्क शल्यक्रिया गरी औषधिसमेत निःशुल्क उपलब्ध गराएर बिरामीहरुलाई गाउँ–गाउँमै पुर्याइएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिनु भयो ।

50Shares