तरकारी जोन धनकुटामा असिनाको कारण ठूलो क्षति

20Shares

बैशाख ३ धनकुटा ।

बाह्रै महिना तरकारी खेती हुने धनकुटाको तरकारी जोन छथरजोरपाटी गाउँपालिकाको सिंधुवा क्षेत्रमा बैसाख २ गते परेको असिना पानीका कारण ठूलो क्षति भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन ईकाई धनकुटा अन्तर्गत सिधुवा क्षेत्रको १ हजार २ सय १० हेक्टरमा लगाईएको सबै तरकारी बाली नष्ट भएको छ ।

ईकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा नं.६,५ र २, महालक्ष्मी नगरपालिका वडा नं.८,९ र १ मा लगाईएको सबै तरकारीबाली नष्ट भएका छन् ।

बेलुकीपख करिव ४५ मिनेट भन्दा बढी परेको असिना पानीका कारण छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाईएको काउली, बन्दा, आलु, मटरकोसा, साग,नर्सरी र टनेलहरु नष्ट भएका छन् ।

छथर जोरपाटी गाउँपालिका वडा नं.६ को मजुवा गाउँमा मात्र करिव ३० करोड बरावरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष समेत रहेका स्थानिय अगुवा कृषक युवराज थापाले जानकारी दिनुभयो ।

उक्त गाउँमा करिव ३ सय घरले लगाएको सबै तरकारी नष्ट भएको कृषक थापाले जानकारी दिनुभयो ।

क्षतिको बिवरण संकलन तथा अनुगमन गर्न प्रतिनिधि–सभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश ‘ख’ का संसद ईन्द्रमणी पराजुली तथा जिल्ला प्रशासन कार्यालय धनकुटा र पत्रकारहरुको टोली सिंधुवा पुगेको थियो ।

बिपद पछि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्ष भीमकला क्षेष्ठको नेतृत्वमा क्षतिको बिवरण संकलन गर्ने काम भईरहेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

करिव २४ घण्टा मध्य पहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु समेत अवरोध हुनेगरी परेको असिना पानीले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुदा गाउँका चौपायाहरु समेतलाई असर पुगेको छ ।

असिना पानीबाट मरुभूमी जस्तै देखिएको सिंधुवा क्षेत्रमा टिनका छाना,खानेपानी ट्याङ्की र घर बाहिर राखिएका भाँडावर्तनहरुमा समेत असर पुराएको थियो ।

असिना पानीले चुटेर केहि ब्यक्तिहरुको टाउकोमा चोट समेत लागेको स्थानियबासीहरुले जानकारी दिएका छन् ।

हाल सबै क्षेत्रबाट तथ्यांक संकलन गर्ने काम भईरहेकोले क्षतिको यकिन तथ्यांक आइ सकेको छैन ।

20Shares