कोरोनाका कारण इङ्गलिश प्रीमियर लिग सिजन समाप्त हुने सम्भावना ।

28Shares

बैशाख १४/ इंग्ल्याण्डमा रोकिएका महत्वपूर्ण खेलहरु सुरु गर्ने विषयमा स्वास्थ्य निर्देशकसहित छलफल हुने भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण इंग्लिस प्रिमियर लिग फुटबल अनिश्चित समयसम्मका लागि स्थगित भएको अवस्थामा यो छलफलबाट केही निस्कर्ष निस्कने विश्वास गरिएको छ। 

यसअघि गएको हप्ता प्रिमियर लिगका २० क्लबसँग भिडियोमार्फत भएको बैठकले भने प्रिमियर लिग अनिश्चित समयका लागि स्थगित हुने निर्णय भएको थियो। अहिले स्वास्थ्य निर्देशकसहितको बैठकबाट आउँदो हप्ताबाट बन्द रंगशालामा खेल गर्न सकिने विश्वासमा क्लबहरु देखिन्छन्। 
आउँदो समयका तयारीका लागि हुने बैठकमा स्वास्थ्य क्षेत्रका प्रमुखहरु सहित आउने कुराकानीपछि प्रधानमन्त्रीले केही भनाइ राख्ने तयारी भइरहेको छ। जसपछि स्वास्थ्य क्षेत्रका विज्ञहरुले हरेक खेलकुदको अवस्था र सञ्चालन गर्न सकिने सम्भावनामा काम गर्नेछन्। 
जसले बन्द रंगशालामा आवश्यक स्वास्थ्य सुरक्षाका साथ खेल गर्न सकिने अनुमान गरिएको छ। अहिले प्रिमियर लिगसँगै महिला सुपर लिग र इंग्लिस फुटबल लिग पनि अनिश्चित समयका लागि स्थगित गरिएको अवस्था छ। 
यसका साथै क्लबहरुमा आर्थिक संकट पनि देखा पर्न थालेको छ। जसले गर्दा खेलाडीको तलब कम गर्नेदेखि कर्मचारी कटौती गर्ने निर्णयहरु भइरहेका छन्। प्रिमियर लिगले नै पनि खेलाडीहरुलाई आफ्नो जागिर बचाइराख्न केही समयका लागि ३० प्रतिशत तलब कम लिनका लागि आग्रह गरेको छ। लिग सुरु गर्न सुरक्षित समयको पर्खाइ रहने बताएसँगै आर्थिक संकटमा परिरहेका क्लबलाई सहयोग गर्न तलब कम गर्न आग्रह गरिएको हो। 

    इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्। 

   हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ। 

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ। २९ अगस्टमा फाइनल खेल गराउन सक्नेगरी तयारी गरे पनि त्यो सहज देखिँदैन।  

  प्रिमियर लिग मात्रै होइन युरोपभर नै लिग फुटबलहरु स्थगित रहेको अवस्था छ। जर्मन बुण्डेस लिगा मे ९ बाट सुरु गर्नेबारे छलफल भइरहेको छ भने नेदरल्याण्ड्सको लिग फुटबल विजेता टिम र रेलिगेसनमा पर्ने टिम नछानीकन स्थगित भएको छ। बेल्जियमले पनि लिगको यो सिजन अन्त्य भएको घोषणा नै गरिसकेको छ। 

 फ्रेन्च लिग वान र स्पेनिस ला लिगा अनिश्चित समयका लागि स्थगित भइसकेको छ। इटालियन सिरी ए मे महिनाको अन्तिममा सुरु गर्ने भनिए पनि त्यो असम्भव जस्तो देखिइरहेको छ। 

  युइएफएले अगाडि कसरी बढ्ने भन्नेबारे सोमबार पनि छलफल गर्दैछ। जसबाट केही देशमा रोकिएको लिग सुरु गर्ने र केही देशमा अभ्यास सुरु गर्ने वातावरण बन्न सक्ने विश्वास गरिएको छ। तर कोरोना भाइरसको जोखिम अनुमान भन्दा बाहिर रहेकाले कुनै पनि निर्णय लिन सहज भने देखिँदैन। 

 युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको फुटबल सिजन यत्तिकै सकिन सक्ने पनि बताइसकेका छन्। आउने जुनसम्मका रोकिएका खेल हुन नसके यो सिजन यत्तिकै हराउने उनको भनाइ छ। रोकोनाको संक्रमण कम भएपछि बन्द रंगशालामा खेल हुन सक्नेतर्फ संकेत गर्दै उनले भनेका छन्- ‘यति समयमा नै पुनः सुरु हुन सकेन भने फुटबलको यो सिजन यत्तिकै हराउनेछ।’
28Shares