अस्पतालहरुले नै बिरामीहरुको ज्यान लिइरहेका छन। भर्ना लिन मान्दैनन।


भदौ ९ – गएको भदौ ३ गते बाराको कलैया उपमहानगरपालिका १० मा ५९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गयो । अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै अन्त्यमा नारायणी अस्पतालमा पुगेपछि ती पुरुषको ज्यान गएको हो । 

गएको साउन २३ गते वीरगञ्ज २ छपकैयाकी २० वर्षीया महिलाको सातवटा अस्पताल चाहार्दाचाहार्दै भर्ना नपाएपछि ज्यान गएको खबर सार्वजनिक भयो ।  यस्तै संखुवासभाबाट हेलिकप्टरमा काठमाण्डौ थापाथलीमा रहेको  प्रसूतिगृहमा जेठ ९ गते राति ल्याइएकी ३२ वर्षीया गंगा कार्कीलाई थप उपचार गर्न भेन्टिलेटर भएका अस्पताल आवश्यक पर्यो ।  तर भेन्टिलेटर भएका वीर, पाटन र शिक्षण अस्पताललगायतका ठूला अस्पतालले भर्ना लिन नमानेपछि उहाँको ज्यान गयो । 

पीसीआर रिपोर्ट पोजेटिभ र नेगेटिभ भएका बिरामीलाई कोरोनाको कहरसँगै अरु स्वास्थ्य सेवा र उपकरण असहज भएका उदाहरण हुन् यी । कोरोनाका कारण कतिपय अस्पतालले बिरामीको भर्ना लिन मान्दैनन् । कतिपय अस्पतालले भने शंकाको भरमा नै भर्ना लिन मान्दैनन् ।

कतिपयको आईसीयू  र भेन्टिलेटरको अभावका कारण विभिन्न अस्पताल चाहार्दाचाहार्दै ज्यान जाने गरेको छ । सहजै अस्पताल पुग्न नसक्ने, पुगे पनि उपचार नपाउने, उपचार पाए पनि उचित नपाउने र अस्पताल धाउँदाधाउँदै बिरामीको ज्यान जाने । अर्काे अस्पतालमा रेफर गर्नमा पछिल्लो समय कोरोना  बहाना बनेको छ ।  

केही दिनअघि मात्र सरकारले कोरोना सङ्क्रमितहरुलाई आइसोलेशन बेड र आईसीयूमा भर्ना हुनका लागि स्वास्थ्य मन्त्रालयका कर्मचारी र अस्पतालसँग  समन्वय गर्नुपर्ने भन्दै निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनसहितको परिपत्रका कारण अबदेखि सङ्क्रमित भइ अस्पतालमा भर्नाका लागि स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिमको अनुमति लिनुपर्ने भएको छ । त्यसपछि मात्रै सङ्क्रमितले अस्पताल भर्ना हुन पाउने छन् ।   

यसबाट पहुँचवालाले मात्र अस्पतालको आईसीयू र भेन्टिलेटर पाउने अवस्था आएको छ ।  उपत्यकालगायत देशभर नै कोरोना सङ्क्रमित बढ्दै गएका छन् । सङ्क्रमित बढ्दै गएको बेला सरकारले लक्षण नभएकालाई घरमा नै राख्ने र  लक्षण भएकालाई अस्पतालको आइसोलेशनमा राख्ने भनेको छ ।

घरमै आइसोलेशनमा बस्नका लागि सबैलाई सम्भव नहुने विज्ञहरु बताउँछन् । सबैको आफ्नो घर र छुट्टै बस्नका लागि कोठा नहुन सक्छ ।  कतिपय भने समाजको डरका कारण अस्पतालमै भर्ना गर्न चाहन्छन् । अस्पतालमा भर्ना भएका बिरामीमध्ये कसलाई आईसीयू आवश्यक छ, कसलाई छैन भन्ने कुरा स्वास्थ्य मन्त्रालयलाई भन्दा पनि उपचारमा खटिने  डाक्टरलाई बढी थाहा हुन्छ । मन्त्रालयमा रिपोर्टिङ भएमा मात्र थाहा हुने हो । नत्र त्यति थाहा नहुन सक्छ । त्यसैले गर्दा पनि  त्यसको जिम्मेवारी अस्पतालकै विज्ञहरुलाई दिनु उचित हुन्छ । 

स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिमका डाक्टर नवराज जोशी भने सरकारले बिरामीको चापलाई हेरेर निर्णय गरिएकाले राम्रै नतिजा आउने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘उपत्यकासहित देशभर सङ्क्रमित बढिरहेका छन् । अस्पताल र बिरामीलाई नै सहज होस् भनेर यस्तो निर्णय गरेको हो ।’

बिरामी र अस्पताललाई कुन अस्पतालमा आईसीयू खाली छ या छैन भन्ने थाहा हुँदैन । जसका कारण अस्पताल चाहार्दाचाहार्दै बिरामीको ज्यान जाने सम्भावना नआओस् भन्नका लागि यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । मन्त्रालयले कुन अस्पतालमा बेड खाली छ,  कहाँ खाली छैन भन्ने तथ्याङ्क राख्ने भएकाले बिरामी रेफरका लागि सोधेर मात्रै गर्न आग्रह गरिएको उहाँ बताउनुहुन्छ । यसले अस्पताल र बिरामी दुबैलाई सहज हुने उहाँको भनाइ छ ।  

अहिले नै  कोरोनाका बिरामीले अस्पतालहरु भरिभराउ हुन थालिसकेका छन् । कुनै अस्पतालमा एकदमै चाप छ । कुनै अस्पतालमा धेरै चाप भइसकेको छैन । त्यसैले चाप कम भएका ठाउँमा बिरामीको संख्या बढाउन र चाप बढी भएको ठाउँमा बिरामीको संख्या घटाउनका लागि सहयोग पुग्ने उहाँको विश्वास छ । 

‘नजिकै अस्पतालमा बेड खाली छ भने पनि मन्त्रालयको क्लिनिकल टिमका मानिसलाई सोध्नुपर्छ भनेको होइन, कुनै बिरामी सिरियस अवस्थामा छ, नजिकै अस्पतालमा बेड खाली छ भने उसले मन्त्रालयसँग सोध्नै पर्दैन,  गएर भर्ना गर्न पाउँछ’ उहाँले भन्नुभयो ।

उज्यालो अनलाइन बाट