अब बिद्यार्थीहरुले पनि शिक्षकको हाजिर राख्ने शैक्षिक निर्णय गर्यो जोरपाटीले।


धनकुटा २७ माघ । पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न छथर जोरपाटी गाउँपालिका धनकुटाले सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको भेला गरेर बिभिन्न ९ वटा बिषयगत निर्णयहरु गरेको छ ।

पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शेरबहादुर लिम्बूको अध्यक्षमा बसेको समिक्षा बैठकले उक्त निर्णयहरु गरेर लागु गर्ने प्रतिवद्धता जनाएको छ ।

बैठकले एक जना संयोजक रहनेगरी ३ सदस्यी गणित,अग्रेजी,बिज्ञान र नेपाली बिषयको बिषयगत समिति गठन गरेको छ । उक्त समितिले बिद्यालय निरिक्षण,अनुगामन तथा पृष्ठपोषण गर्नेछ ।

त्यस्तै बैठकले बिद्यालयमा सन्चालन भईरहेको दिवा खाजा कार्यक्रम बिद्यालयमा नै बनाएर खुवाउनुपर्ने,आर्थिक बर्ष ०७६÷०७७ को लेखापरिक्षण फागुन मसान्त सम्म पालिकामा पेश गरिसक्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै शिक्षक कक्षा प्रवेश अघि र बाहिरिएको समय बिद्यार्थीहरुले अभिलेख राख्ने कार्यक्रम(टिएसटी) कार्यक्रम फागुन महिना देखि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै पालिकाले मासिक रुपमा दिईरहेको शिक्षक तलबका लागि हरेक महिनाको २५ गते भित्र माग फाराम पालिकामा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

शिक्षा गाउँपालिका शिक्षा ऐनमा आधारित रहेर पालिका भरीका सामुदायिक बिद्यालयका शिक्षक कर्मचारी ब्यबस्थापन कार्यबिधि एकैखालको बनाउने निर्णय भएको छ ।

पालिकाले यस अघि सामुदायिक बिद्यालयहरुमा मात्र छात्राहरुलाई दिंदै आएको सेनिटरी प्याड अब पालिकाका सबै ७ वटै संस्थागत बिद्यालयहरुलाई पनि दिने निर्णय गरेको छ ।

बिद्यालयमा रहेको बिग्रिएका तथा मर्मत गर्नुपर्ने ई–हाजिरी मेसिन बनाउन र नृत्य,गायन र बाद्ययबाधन सिकाई कार्यक्रम तालिमका लागि पालिकामा प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा शिक्षा शाखा अधिकृत निर्मला सुबेदीले सामुदायिक बिद्यालयमा ३ आर्थिक बर्ष ०७४÷०७५,०७५÷०७६ र ०७६÷०७७ को प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला क्षेष्ठ,प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर,योजना अधिकृत नेत्रबहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

बैठकको समापन गर्दै पालिका अध्यक्ष शेरबहादुर लिम्बूले शिक्षा क्षेत्रमा पालिका र बिद्यालयहरुले गरेका राम्रा र महत्वपूर्ण काम जनसमुदाय स्तरमा सूचित गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा नयाँ शैक्षिक प्रबिधि टकिङ टिचर एप्लिकेशन सम्बन्धि जानकारी क्रियटिभ एडुटेन्टमेन्ट वर्ड प्रा.लि.काठमाण्डौका मोहन राईले प्रबिधिको बारेमा जानकारी दिनुभएको थियो ।

६५ हजार रुपैंया पर्ने यस प्रबिधिको नमुना बिद्याल,प्राबिधिक धार तर्फका बिद्यालय र उत्ृष्ट शिक्षण सिकाई भएका बिद्यालयहरुमा प्रयोग गर्न लागिएको पालिका अध्यक्षले जानकारी दिनुभयो ।

छथर जोरपाटी गाउँपालिकामा २८ सामुदायिक र ७ संस्थायत बिद्यालय रहेका छन् । १७२ सामुदायिक बिद्यालय रहेको सामुदायिक बिद्यालयहरुमा ३ हजार ४ सय बिद्यार्थीहरु रहेको शिक्षा शाखाले जानकारी दिएको छ ।