मिनि इलाम बन्दै धनकुटा पाख्रीबास सन्सारी सिम्सार।

44Shares

फागुन ९ धनकुटा ।-नरेन्द्र कश्चित
पाख्रीबास नगरपालिका वडा नं ४ धनकुटामा अवस्थित सन्सारीमाई पूजा सिमसार क्षेत्र पर्यटकहरूको रोजाईमा पर्न थालेको छ ।

विक्रम सम्बत् २०६८ सालदेखि करिब १५ रोपनी क्षेत्रफलमा रहेको झाडी अवस्थामा रहेको संसारीमाई पूजा सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै आएपछि पर्यटकहरूको रोजाईमा पर्न थालेको हो ।

सो सिमसार क्षेत्र वरिपरि रहेको ब्यक्तिगत जग्गा समेत संसारी पर्यटकीय क्षेत्रलाई नि:शुल्क प्रदान गरिएको कुरा संसारी सिमसार पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर गुरुङ्गले बताउनु भयो ।

शुरू शुरूमा संसारी सिमसार क्षेत्र झाडीको रुपमा रहेको थियो ।सिमसारबाट पानी बगेर खेर जाने गर्दथ्यो ।यसलाई व्यवस्थापन गर्न शुरूमा निक्कै गाह्रो भएको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

संसारी सिमसारलाई थप आकर्षक र व्यवस्थित बनाउन स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार समक्ष योजना माग गर्न निक्कै दौडधुप गर्नु परेको समेत अध्यक्ष गुरुङ्गले बताउनु भयो ।संसारी सिमसारलाई व्यवस्थापन गर्न हालसम्म लगभग ७२ लाख जत्ति खर्च भइ सकेको संसारी सिमसार पर्यटकीय क्षेत्र व्यस्थापन समितिका सदस्य श्याम प्रकाश राईले बताउनु भयो ।

कोभिड-१९ को कारण चहलपहलमा ठप्प रहेको सिमसार
क्षेत्रमा पछिल्लो समय दैनिक चहलपहलमा वृध्दि हुँदै गएको सिमसार पर्यटकीय क्षेत्र व्यस्थापन समितिका सदस्य राईले बताउनु भयो ।

प्रत्येक दिन संसारी सिमसार क्षेत्रमा नेपालका विभिन्न जिल्लाबाट २ सय जनाभन्दा बढीले भ्रमण गरेका छन् ।विशेषगरि शनिबारका दिन १ हजार जनाभन्दा बढी आन्त्तरिक तथा वाह्य पर्यटक आउने गरेको संसारी सिमसार पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका सदस्य राईले बताउनु भयो ।

सिमसार क्षेत्रमा चिया बगान,दुईवटा पोखरी,पोखरीमा बोटको व्यवस्था,घोडा चढ्ने व्यवस्था,विभिन्न प्रजातिका पशुपंछी,बुध्द मुर्ती,किराँती राजा यलम्बरको मुर्ति,महादेबको मुर्ती,खाना बस्नलाई होटल र कटेजको व्यवस्था गरिएको सिमसार पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

44Shares