किराँती राजा बुढाहाङ्ग जस्ले सुर्यलाई समेत पक्रेर राख्ने अलौकिक शक्तीशाली खाल्साली राजा

278Shares

वैशाख १,२०७८ धनकुटा ।–नरेन्द्र कश्चित

धनकुटा जिल्ला सदरमुकामबाट दक्षिण पश्चिममा अवस्थित खाल्सा क्षेत्र साविक आँखिसल्ला गाँउ विकास समिति हाल सहिदभूमि गाँउपालिका वडा नं ६ र ७ मा प्रचीन किराँती राजा फुडाहाङको (नेपालीमा बुढाहाङ यसको शाब्दिक अर्थ नेपालीमा बुढो राजा भन्ने हुन्छ) दरबारको भग्नवाशेष छ ।पृथ्वी नरायण शाहले नेपाल एकिकरण पूर्व खाल्सामा शक्तीशाली किराँती राजा फुडाहाङले खाल्साको राज्य समालेर बसेको कथनहरु पाइन्छ ।तत्कालिन खाल्सा क्षेत्रमा धनकुटा जिल्लाको छिन्ताङ,खोकु,आँखिसल्ला,चुङमाङ,पाख्रीवास,फलाटे, सान्ने,लेगुवा,वेलहरा,भीरगाँउ गाँउविकास समितिका भू–भागलाई खाल्सा क्षेत्र अन्त्र्तगत पर्दथ्यो भन्ने कथन पाइन्छ ।खाल्सा क्षेत्रको प्रशासनिक कार्यक्षेत्र आँखिसल्ला गाविसलाई बनाएर किराँती राजा फुडाहाङ(बुढाहाङ)ले राज्य संचालन गरेको देखिन्छ ।यहाँका छÞलÞङ कतिपयले छिलिङ पनि भनि दावी गर्नेहरु पनि पाइन्छन् कतिपयले छोलिङ त कतिपयले छुलुङ भनेर तर्कहरु गर्ने गरेको पाइन्छ ।

खाल्साका किराँती राजा फुडाहाङ अलौकिक शक्ती प्राप्त बाह्र बोली,बाह्र अवतारी थिए ।यी किराँती राजा फुडाहाङले सूर्यलाई समेत पकडेर राख्थे भन्ने कथनहरु पाइन्छ ।बुढाहाङ कि फुडाहाङ भन्ने सवालमा छुलुङ भाषामा फुडाहाङको शाब्दिक अर्थ फुडा भनेको बुढो हाङ भनेको राजा भन्ने हुन्छ ।यही फुडाहाङ शब्द पछि बोल्दै जाँदा बुढाहाङमा अपभ्रंश भएको हो ।अर्थात नेपाली भाषाकरण गरेको देखिन्छ ।अब यस्ता शक्तिशाली किराँती राजा फुडाहाङ को हुन् ?कहाँबाट आए आँखिसल्लामा ?भन्ने लिखित दस्तावेज कतै भेटिएको छैन ।तर फुडाहाङको बारेमा प्रशस्तै आ–आफ्नै कथनहरु पाइन्छ ।

केहिका अनुसार शक्तीशाली किराँती राजा फुडाहाङ फान्चुहाङ बसोबासको करिब १५०० वर्ष पछाडी नेपाहाङ फान्चुको शासन काल थियो ।समय वित्दै जाँदा खाल्सादेखि उत्तर दिशा पल्लो किराँत अन्त्र्तगतका थुमहरुमा किराँती अपुङ्गी मझिया शासकहरुले राज्य चलाउने गर्थे ।त्यही क्षेत्रबाट याम्फुरा,आम्बुरा खाल्सा क्षेत्रको आँखिसल्लामा आएर बसोबास गर्न थाले ।प्राचीन खाल्सामा खुर्पेठेकको चलन थियो अर्थात खुर्पाले जतिपनि जंगल खोरिया फाँडेर वस्न पाउने व्यवस्था थियो ।यसरी खुर्पाले जंगल र खोरिया फाँडेर याम्फुरा आम्बुरा आफ्नो सहयोगीका साथ बस्न थाले ।समय बिते सँगै यहि याम्फुरा,आम्बुरालाई छुलुङ भाषामा फुडा भन्न थालियो ।यसरी याम्फुरालाई फुडा भनेर भन्न थालियो ।समयक्रमसँगै समाज विकास अघि वढ्दै गयो ।खाल्साको राज्यसत्तामा फुडाहाङको सहभागिता विस्तारै

हुदै गयो ।जसअनुसार किराँती फुडाहाङ आफुलाई शक्तिशाली बनाउदै लगे ।आफ्नो पक्षमा सहयोगी तथा सेनाहरु भित्री रुपमा बनाउदै गए ।खाल्सामा आफु शक्तिशाली बन्दै गएपछि फान्चुवंशी राजा नेपाहाङको राज्यमा फान्चुवंशी छोरीचेली जिस्काउने,जुम्रा मार्न लगाउने,लुगा धुना लगाउने,गोठालो घाँस दाउरा गर्दा अनावश्यक दुःख दिने काम गर्न थाले ।यसरी फान्चुवंशी राजा नेपाहाङसँग विस्तारै विवाद वढ्दै जान थाल्यो ।विवाद वृद्धि भएसँगै युद्ध हुन थाल्यो ।फुडाहाङले घोडा वायुवग्गी र धर्नुधारी सिपाहीको माध्यम फान्चुवंशी राजा नेपाहाङमाथि जाइ लागे ।फुडाहाङले फान्चुहाङ अपुङ्गी राजा नेपाहाङमाथि योजनावद्ध आक्रमण वढाउदै लगे ।अलौकिक शक्ति प्राप्त फुडाहाङले युद्धमा बाघ,भालु र मुलाम घोडाहरुको समेत प्रयोग गरिएको दन्त्य कथन पाइन्छ ।

सयौंको संख्यामा रहेको फान्चुवंशी राजा नेपाहाङको शाखासन्तान र जनता युद्धमा मारिए ।युद्धमा फान्चुवंशी राजा नेपाहाङको वंशनास र राज्यशरण हुदै गर्दा नेपाहाङको पत्नि तुप्लाहाङमा गर्भवती थिइन् ।फान्चुवंशलाई जोगाउन फुडाहाङबाट लुक्दै लुक्दै बसिन् ।केहि समय पछि तुप्लाहाङमाको कोखबाट केराघारीमा पुन्तुहाङ फान्चुको जन्म भयो ।यसरी फुडाहाङले थाहै नपाई पुन्तुहाङ फान्चुको जन्म भइ हुर्किर्द गयो ।समय वित्दै गयो ।शक्तिशाली किराँती राजा फुडाहाङ बुढो हुदै गए ।उनको शासनमा धेरै उतारचढाव आए ।जिन्दगीको उत्तराद्र्धतिर फान्चुवंशी राजा नेपाहाङको वंशनास गर्दा नसकेको थाह पाएर श्राप दिए ।फुडाहाङले सात जुनीसम्म एक घरे एक थरे हुनु भनेर श्राप दिए ।समय वितेसँगै विरत्तीएर फुडाहाङले राज्य र शासन व्यवस्था फन्चुवंशी राजा नेपाहाङको पुत्र पुन्तुहाङलाई सुम्पेर खाल्साको उत्तरी क्षेत्र तिब्बत भोट ल्हासा तर्फ फर्के । फुडाहाङ बारे एकथरीको यस्तो पनि तर्क कथनहरु पाइन्छ ।

अर्काथरीको तर्क कथन अनुसार फुडाहाङ राजा,उनका दाजु र केही सहयोगी सहित ल्हासाबाट तिर्थटन गर्न काशी झरे ।फर्किदा खाल्साको बाटो हुदै फर्किदा खाल्साको आँखिसल्लामा आएपछि फुडाहाङलाई मैदाउहाङाम देवीको प्रभावले पेट कटकट दुख्ने व्यथा लागेछ ।तत्कालिन समयमा हिजोआजको जस्तो समय हेर्नलाई घडी लगायत अन्य कुनै पनि उपकरणहरु उपलब्ध थिएन ।तसर्थ समय सूचकको लागि केराको बोट काटेर हेर्ने प्रचलन रहेको थियो ।अझैपनि केराको बोट काटेर हेर्ने हो भने केहि समयमा नै पालिएर माथि आइसक्दछ ।

फुडाहाङको दाजुले आफुले भिरेको तरवार झिकेर तत्कालै केराको बोट छिनाएर भाइ फुडाहाङलाई भने यो नपलाउदै आयौ भने मलाई भेट्छौ धेरै पलायो भने भेट्दैनौ भनेछन् ।फुडाहाङ पाखामा दिसा बस्न थुचुक्क बस्छन् फेरी उठ्छन् ।उठेर हिडन लाग्दा फेरी पेट कटकट दुख्ने दिसा आएजस्तो हुन्छ ।थुचुक्क बस्छन् फेरी उठ्छन् ।हुदा हुदा घण्टौ समय बितेछ ।पछि बल्लबल्ल पेट कटकट खान निको भएजस्तो भएपछि केराको बोट काटिएको स्थानमा आउदा दाजु थिएनन् ।केराको बोट पनि निक्कै लामो पलाइ सकेको रहेछ ।फुडाहाङलाई के गरौ कसो गरौ भयो ।अन्त्यमा दाजुलाई खोज्दै खोज्दै ल्हासा पुगे ।

ल्हासा दरबारमा भाई फुडाहाङ महिनौ समय लगाएर आएको देख्दा दाजु अचम्म परे ।दाजुको हातमा ल्हासाको शासन व्यवस्था थियो ।महिनौ पछि फुडाहाङ फर्केर आउदा उनलाई दरबारका सेनाहरुले साथै दरबारका दरबारियाहरुले समेत चिन्न नसक्ने भएका थिए ।यसरी फुडाहाङको दाजुले बल्लैले चिनेपछि भने तिमीलाई मेरो सेनाहरु लगायत यहाँका जनताले विर्सी सके ।तिमीलाई यहाँ जे पनि गर्न सक्छन् ।त्यसैले तिमी जहाँबाट आएका थियौ त्यही फर्केर जाउ ।दाजुले यसरी भनेपछि फुडाहाङ त्यहाँबाट

हिड्न लागेको देखेर दाजुले दुईवटा चमार एउटा कालो चमार जुन तिमीलाई शत्रुहरुले आक्रमण गरेमा पछाडीबाट हल्लाउनु,सेतो चमार जुन अगाडीबाट हाल्लाउनु जसले बाटो देखाउछ ।

ल्हासा दरबारबाट अपरिचित मानिस जो फुडाहाङ निस्कदै गरेको देखेर ल्हासाका भोटेहरुले आक्रमण प्रयास गरे ।जसमा कालो चमार हल्लाइ दिदा शक्ति उत्पन्न भइ पछाडी भोटेहरु पछाडी सारे ।यहि मौकामा फुडाहाङ त्यहाँबाट अघि वढे ।बाटोमा आउदै गर्दा किराँती लिम्बु राजाहरुसँग पनि उनको युद्ध भयो ।दाजुले दिइ पठाएको कालो चमारको सहयताबाट उनि बचे ।

त्यसपछि उनि हालको बराहक्षेत्रमा आएर बसे ।रहदा वस्दा त्यहाँ उनले फाक(सुँगुर)को रुप लिए ।हाल त्यहाँ अझैपनि मुर्ति फाक(सुँगुर)को छदैछ । छुलुङभाषीले यो मुर्तिलाई फुडा पनि भन्ने गर्छन् ।फुडाहाङ ल्हासातिर दाजुलाई भेटेर आउदा बाटोमा भोटे र लिम्बुवंशी राजाहरुसँग युद्ध भएको कारणबाट हालको बराहक्षेत्रमा भोटे र लिम्बु समुदायका मानिसहरु दर्सन गर्न आउदैनन् भन्ने कथन छुलुङका अग्रजहरुको छ ।रहदा वस्दा तम्मर र अरुण नदी वरिपरि रहेको खाल्साको आँखिसल्लामा फान्चुवंशी राजासँग युद्ध भयो ।

फान्चुवंशी राजालाई परास्त गरेपछि ततकाल नियममा बसाए ।बिजोड घरको हिसाबमा मात्र फान्चुहरु बस्न पाउने नियममा बाँधे ।यद्यपी यो नियम फान्चु राईहरुले मानेकै देखिन्छ ।यसरी फान्चुवंशी राजालाई पराजित गरेर फुडाहाङ खाल्सा क्षेत्रको राजाको रुपमा शासन व्यवस्था चलाएर बसेको विभिन्न कथनहरुले पुष्टि गर्दछ ।फुडाहाङले आफ्नो शासनकालमा स्थानीय स्रोत साधनको प्रचुरमात्रामा उपयोग गर्ने गरिको नियमहरु बसाएको देखिन्छ ।जस अनुसार तितेपाती वा खरले छाएको एकतले घरमा मात्र बस्न पर्ने बाँसको उपयोग गर्न पर्ने,विभिन्न दण्डजरिवाना,खामयोङमा(माटो बार्ने) लगायतको अन्य विविध व्यवस्था गरेको पाइन्छ ।

रहदा वस्दा अलौकिक सर्वशक्तिसाली बन्दै गएपछि फुडाहाङले सूर्यलाई समेत पक्डेर राख्ने गर्थे ।खाल्साका आसपासमा रहेका केहि राजाहरुलाई यो मन परेको थिएन ।कतिपय राज्यमा चाँडै अँध्यारो हुने चाँडै उज्यालो हुने स्थितीले गर्दा दैनिक कामहरु खल्बलिएका थिए ।यसै क्रममा हाल उदयपुरको मैनामैनी यो कुराले समेत असर पुग्यो ।त्यहाँबाट फुडाहाङलाई खोज्दै खाल्सा आँखिसल्ला आइपुगे ।आफुलाई मार्न आएको थाह पाएपछि फुडाहाङले तीनखुट्टे सुनको मृग देखाइ दिए ।उदयपुरको मैनामैनीबाट आएका धर्नुधारीहरुले तीन खुट्टे मृग देखेर मृगलाई मार्ने योजना बनाए ।तीन खुट्टे सुन मृगलाई खेदाउदा खेदाउदै फुडाहाङ मान्द्रोले बेरिएर अन्त्र्तध्यान भए ।उता फुडाहाङले देखाएको सुनको तीन खुट्टे मृग समेत फुडाहाङ अन्त्र्तध्यान भएपछि हरायो ।यसरी फुडाहाङ मरेको नभइ अन्त्र्तध्यान मात्र भएको हो भन्ने कथन समेत पाइन्छ ।

हाल खाल्सा आँखिसल्लाका छुलुङभाषी समुदायकाले कार्तिक शुक्ल पूर्णिमा पछि आउने बु्धवार देखि सात दिन सम्म फुडाहाङलाई सम्झेर कुल पूजा पृति पूजा भाकलहरु गर्ने गरेको पाइन्छ ।जसमा ङाङसुवा(मुन्धुमी शक्ति प्राप्त व्यक्ति)मा फुडाहाङको आत्मा नाभिएको जनविश्वास गरिन्छ भने छाम्बक(मुन्धुमी शक्ति प्राप्त व्यक्ति)मा फुडाहाङको पत्नि मादिहाङको आत्मा नाभिएको जनविश्वास छ ।फुडाहाङ(बुढाहाङ) सम्बन्धी कुनै खास लिखित दस्तावेजहरु छैनन् ।माथिका कथनहरुले जे जस्तो भने पनि फुडाहाङ खाल्सा क्षेत्रका फान्चुवंशी राजालाई परास्त गरि खाल्सा क्षेत्रको राजगद्दी समालेर बसेका एक शक्तिशाली अलौकिक शक्ति सम्पन्न किराँती राजा हुन् भन्ने विषयमा दुईमत छैन ।
तस्बिर स्रोत-गुगल

278Shares