धनकुटा नगरपालिकामा अर्को सूचना जारी नभएसम्म सबै विद्यालयहरु बन्द,जिल्लाबाट अन्य स्थान जान सवारीमा रोक

22Shares

वैशाख २१ धनकुटा ।

धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि बन्द गरिएको विद्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द गरिने निर्णय गरिएको छ ।

धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति सहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संचालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा परीक्षा संचालन भइरहेको विद्यालयहरुमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले बताउनु भयो । धनकुटा नगरभरीका १० वडामा ५३ वटा सामुदायिक तथा संस्थागत विद्यालय संचालित छन् ।

केही दिनयता धनकुटा जिल्लामा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

डिसिसिएमसिको बैठकले धनकुटा हुँदै अन्य गन्तब्यतर्फ जाने यातयातका साधनलाई नरोक्ने तर धनकुटाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रस्थान गर्न नदिने निर्णय गरेको छ ।

बैठकले घर बाहिर निस्किनै परे सरकारले जारी गरेका स्वाथ्य मापदण्डको पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले सबै स्थानीय तहमा संक्रमित भए होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन र स्थानीय तहलाई आइसोलेन बनाउन लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनु भयो ।

डिसिसिएमसिको बैठकले जिल्ला अस्पताल धनकुटाले कोरोना संक्रमितहरुको उपचार, कोरोना परीक्षण, आइसोलेसनमा बस्नेहरुको खाना व्यवस्थापन लगायतको शीर्षकमा ३० लाख रुपैयाँ गृह मन्त्रालय मार्फत् केन्द्रीय कोरोना कोष, १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरेको छ ।

धनकुटा नगरपालिकाअन्तर्गत वडा कार्यालयमा कार्यरत २ प्राविधिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबैखाले सेवा वैशाख २० गते सोमबारदेखि वैशाख २६ गते आइतबारसम्मका लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनुभयो ।

यो अवधिमा धनकुटा नगरपालिकाले प्रवाह गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिकहरु, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।

 

22Shares