नेपाली कांग्रेसद्वारा धनकुटा अस्पतालमा तत्काल भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गर्न माग


वैशाख २४ धनकुटा ।

जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर सहितको आइसियू कक्ष स्थापनार्थ नेपाल सरकारद्वारा बिनियोजित बजेट आएको महिनौं हुदा पनि योजना अनुसारको कार्य नभएको भनपदै नेपाली कांग्रेस धनकुटाले प्रेस विज्ञाप्ती जारी गरि गम्भिर ध्यानर्कषण भएको जनाएको छ ।

बजेट आएर पनि भेन्टिलेटर सहितको आईसियू कक्ष तत्काल धनकुटा अस्पतालमा स्थापना गरी संचालन नभएमा यसबाट उत्पन्न हुने क्षती र परिस्थितिको जिम्मेवार सम्वन्धित सरोकारवाला निकायले व्यर्होनु पर्ने समेत नेपाली कांग्रेस धनकुटाले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- ९ महिना अघि बजेट आइ हाल सम्म धनकुटा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना नभएकोमा आपत्ति जनाउदै तत्काल स्थापना गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाईरस तीव्र रुपमा समुदायस्तरमा फैलदै गई संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा समेत नेपाल सरकारबाट चार वटा भेन्टिलेटर सहितको १० वेडको आईसियू कक्ष स्थापना गर्न धनकुटा अस्पतालमा २ करोड रुपैया बजेट पठाएकोमा हालसम्म आईसियू कक्ष स्थापना नहुनु हामी धनकुटावासीहरुका लागी अत्यन्तै दुखदायी र विडम्वना भएको धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महामारीको अहिलेको विषम् परिस्थितिमा कोरोना भाईरस लगायत अन्य कारणले सिकिस्त हुने विरामीहरुका उपचारका लागी अति आवाश्यक पर्ने भेन्टिलेटर सहित आईसियू कक्ष मानवीय संवेदनशिलतालाई ध्यानमा राखी अविलम्व स्थापना तत्काल गर्न नेपाली कांग्रेस धनकुटा सो विज्ञप्ती मार्फत सवैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरिएको छ ।

यसैगरी नेपाली कांग्रेस धनकुटाले धनकुटामा कोरोना भाईरस महामारीको रुपमा फैलिरहेको अवस्थामा सत्तारुढ नेकपा एमालेका संघीय सांसद राजेन्द्र राई लगायतका जनप्रतिनिधिहरुले विभिन्न योजना आयोजनाहरुको उद्घाटन लगायतका कार्यक्रमहरु गर्दै आएकोमा गम्भिर ध्यानाकर्षण गराउदै यस विषम अवस्थामा त्यस किसिमको जमघट तथा भिडभाड हुने कार्यक्रमहरु तत्काल बन्द गर्न प्रशासनलाई आग्रह गरेको छ ।