धनकुटाको छथरजोरपाटीमा २ हप्तामा ५३ संक्रमित थपिए,एउटै वडामा ६२ जना संक्रमित


जेठ २५ धनकुटा ।

छथर जोरपाटी गाउँपालिका धनकुटामा कोरोना संक्रमितको संख्या दुई हप्ताको अन्तरालमा ५३ जना थपिएर १ सय ११ पुगेको छ ।

जेठ ४ देखि २१ गते सम्म १७ दिन भित्र गरिएको १ सय २५ जनाको स्वाब परिक्षण गर्दा ५३ संक्रमित थपिएर १ सय ११ जना पुगेको हो ।

बैसाख देखि जेठ ४ गते सम्म १ सय ६६ जनामा गरिएको स्वाब परिक्षणमा ५८ जना संक्रमित रहेका थिए । जेठ ४ पछि २१ गते सम्ममा १ सय २५ जनामा स्वाब तथा एन्टीजेन(किट) परिक्षण गरिएको थियो ।

हालसम्म कुल २ सय ९१ जनामा गरिएको परिक्षणमा ६६ जना पुरुष र ४५ जना महिला संक्रमित रहेका स्वास्थ्य संयोजक सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

जसमा ५० जना होम आईसोलेसनमा रहनु भएको छ भने ५६ जनाले स्वास्थ्य लाभ गरेका छन् भने बिर्तामोड,धुलिखेल र कोभिड अस्पताल जोरपाटीमा १/१ जनाको उपचार भईरहेको छ । छथरजोरपाटी गाउँपालिकामा संक्रमित २ जनाको मृत्यु भएको छ ।

६ वटा वडा रहेको पालिकामा वडा नं. १ मा संक्रमितको संख्या शुन्य रहेको छ भने सबैभन्दा धेरै वडा नं. ६ को सिंधुवा बजारमा ६२ जना संक्रमित रहेका छन् ।वडा नं. २ मा १९ जना,३ मा ११ जना,४ मा १२ जना र वडा नं. ५ मा ७ जना संक्रमित रहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।