आफ्नो शरीर आफैंलाई भारी, नेतालाई भर्‍याङ


दाङ, १६ असोज । घोराही उपमहानगरपालिका-१२ हापुरका खुसीराम चौधरी आफ्नो बाउ-बाजेझैं ६ वर्ष गाउँकै जमिन्दारको घरमा कमैया बसे । दिनरात जमिनदारकै घरमा काम गर्थे । तैपनि वर्षभरि खानलाउन नपुग्ने । खेती गर्न आफ्नो जमिन थिएन । जमिन्दारको खेतबारीमा वर्षदिन खटिन्थे ।

कामको दुःखभन्दा अप्ठ्यारो थियो जमिन्दारको ज्यादती । बधुवा कमैयाको रूपमा बाँचिरहेका थिए, उनी । भनिन्छ, अन्याय एउटा बिन्दुमा पुगेपछि विस्फोट हुन्छ, भयो त्यस्तै । जमिनदारी प्रथाको थिचोमिचो अन्त्य गर्न उनले मुक्तिको कसम खाए र बन्दुक उठाए ।

मुलुक परिवर्तन गर्ने भन्दै माओवादीले देखाएको क्रान्तिको पथ पछ्याए । २०५६देखि उनी पूर्णकालीन नै बने । प्रत्यक्ष सशस्त्र युद्धमा सहभागी हुनथाले । नयाँ जनवादी क्रान्तिको विगुल फुक्दै युद्धका थुप्रै मोर्चा सम्हाले । लडाकु हुँदै बटालियन र बिग्रेड कमाण्डर बने । दाङ, रुकुम, रोल्पाका ठूला युद्धमा नेतृत्वदायी भूमिकामा रहे । उनी आफ्नै नेतृत्वमा पनि कयौं युद्धहरु लडे ।

युद्ध लड्नु सोचेजस्तो सजिलो काम होइन । ०६१ सालमा रुकुमको खाराको भिडन्तमा उनी घाइते भए । उनीसँगैका धेरै साथीहरु शहीद भए । अहिले उनी दिनरात भूपि शेरचनको कविता सम्झिर कष्टपूर्ण जीवन बाँचिरहेका छन्- मरेर शहीद हुनेहरु हो, बाँचेर त हेर, बाँच्न कतिगाह्रो छ ….।

युद्धमा घाइते भएको उनको शरीर अहिले हल न चलको अवस्थामा छ । बन्दुकका गोलीले क्षतविक्षत बनेको उनको दाहिने हात र खुल्टा चल्दैन । टाउको, कुम, ढाड र छातीमा गरी चार गोलीका छर्रा छ । देश बदल्ने सपना बोकेर युद्ध लडेका उनलाई अहिले औषधि कसरी किन्ने भन्ने पिरलो छ ।

उनकै भूगोल आशपासका माओवादी नेताहरुको जीवन अहिले उत्थान भएको छ । कतिपय त उपचारको लागि विदेश धाउने हैसियतका भइसके । तर उनलाई स्वदेशकै सस्तो उपचार पनिएका देशको सपना भएको छ ।

माओवादी सुप्रिमो प्रचण्ड कहिले आत्महत्या त कहिले नयाँ लडाइँको कुरा गरिरहेका छन् । तर, उनीजस्ता उपचार नपाएर छट्पटाइरहेका घाइते योद्धालाई देख्नेहरु कसरी प्रचण्ड नेतृत्वको लडाइँमा जान सक्लान् ?

****

युद्धविराम भएको आज १५ वर्षपछि उनी फर्केर हेर्छन् । वर्तमानको आँखीभ्यालबाट अतीत चिहाउन खोज्छन् । तर उनका लागि न विगत प्यारो लाग्छ, न वर्तमान । विगत सम्झिँदा परिवर्तनका निम्ति लड्दा माओवादी जनयुद्धका सपना र आर्दशले झक्झक्याउँछ । वर्तमानमा युद्धले दिएको त्यही आलो घाउले पोल्छ ।

युद्धले क्षतविक्षत भएको आफ्नै हाटखुट्लाई हेर्दै गहिरो सोचमा पुग्छन्, उनी । कुनै समय उनी परिवर्तनका निम्ति लड्नभन्दै छातीमा थाप्न तयार भए । बन्दुक बोकेरघर छोडे । जीवनको प्रवाहनगरी युद्ध लडे । युद्धको मैदानमा मर्न र मार्न पछाडि परेनन् । आखिर केका लागि त ?

उनीसँग जवाफ छैन ।

भइदिएको के छ भने जुन परिवर्तनका निम्ति उनीजस्तै माओवादी लडाकुहरु जीवन मरणको लडाइँ लडे, त्यस्तो भएको छैन । हो, मुलुकमा गणतन्त्र आएको छ, जनताले आफ्नो संविधान आफ्नै प्रतिनिधिद्वारा लेखाएका छन् । संविधानमा धेरै नागरिक अधिकारहरु सुनिश्चित गरिएका छन् ।

छन्, तर ती सबै कागजका पन्नाभित्र छन्, निर्जीव छन् । उनीजस्ता घाइतेको उपचार गर्ने, परिवार छाडेर विदेशिएका युवाहरुको पसिना पुछ्ने र पि्रयसीहरूको आँसु पुछ्ने काम यी निर्जीव पन्नाहरुले सक्दैनन् । यसलाई जीवन्त रुपान्तरण गर्नुपर्नेहरु नालायक ठहरिएका छन् ।

आज त्यही परिवर्तन उनी जस्ता लडाकुका लागि अभिसाप जस्तै बनेको छ । नेताहरू सत्तामा पुगेका छन् । तर आफैंले लडेर ल्याएको लोकतान्त्रिक व्यस्थामा उनी जस्तै अंगभंग भएका घाइते लडाकुहरु औषधि उपचार नपाएर छट्पटाइरहेका छन् ।

गोली लागेको दाग देखाउँदै पूर्वलडाकु खुसीराम चौधरी ।

भन्छन्- ‘आखिर हामीले लडेको युद्धबाटै मुलुकमा गणतन्त्र आयो । जिउज्यान नभनी लड्यौं । घाइते भएर घर न घाट भयौं । अहिले उपचार कसरी गर्ने भन्ने चिन्ता छ । हामीलाई भर्‍याङ बनाएर नेताहरू सत्तामा पुगे’ उनी थप्छन्, ‘आफैंले ल्याएको परिवर्तनको भागिदार हुन पाएनौं ।’

केही दिनअघि मात्रै आफ्नै कमाण्डर वर्षमान पुन उपचारका लागि थाइल्याण्ड पुगेको समाचार सुने । उनको मन अमिलो भयो । युद्ध लड्दा शरीरमा लागेको गोली र छर्रा निकाल्न नसकेको आफ्नै दुर्दशा देख्दामन भक्कानिएर आयो ।

घाइते शरीर बोकेर उपचारका लागि उनी आफ्ना कमाण्डर भेट्न पटकपटक पुगे । बदलामा आश्वासनबाहेक केही नपाएपछि दुई कट्ठा जग्गा बेचेर उपचार गरे ।

उनी भन्छन्-‘जसको कमाण्डमा हामी लड्यौं । त्यही नेताहरु आज सत्तामा छन् । बिरामी हुँदा देशविदेश पुग्छन् । हामी यहाँ उपचार नपाएर छट्पटाइ रहेका छौं । औषधि किन्ने पैसा छैन ।’ सरकारले दिँदै आएको जीवन निर्वाह भत्ता समेत काटिदिएपछि झन् बढी गाह्रो भएको छ ।

यही खबर उनकी श्रीमती वसन्ती चौधरीले सुनिन् । उनी पनि जनयुद्धकी घाइते हुन् । विद्रोही पक्षकी उनी सेनाको आक्रमणमा परेर पेटमा लागेको गोली घाउ बनेर अहिले पनि चहर्‍याइरहन्छ । तर युद्धले बनाएको त्यही घाउ मेटाउन, मल्हमपट्टी गर्न कोही आएन । उनी भन्छिन्- ‘नेताहरु हामीलाई चिन्दैनन् । समस्या बुझ्न आउँदैनन् । अहिले सम्झँदा किन लडिएछ भन्ने लाग्छ ।’

****

घाइते लडाकु केशव चौधरी ।

घोराही-१७ का केशव चौधरी ‘अर्जेन्ट’ पूर्व माओवादी लडाकु हुन् । २०५६ सालदेखि उनी प्रत्यक्ष आक्रमणहरूमा सहभागी भए । वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, उनका कमाण्डर थिए । पासाङकै नेतृत्वमा उनले रुकुमको खारामा लड्दा शरीरमा गोलीलागेर उनी घाइते भए । संसार जित्ने सपनाले युद्धमा सधैं अग्रणी भूमिका रहने उनको अहिले शरीर सद्दे छैन । शरीरभर बम र गोलीका छर्रा छन् ।

****

२०५४ सालतिर माओवादी जनयुद्ध सुरुआती चरणमा थियो । गाउँ-गाउँमा जनमानसमा वैचारिक ढाडस दिनसुरु गरिसकेका थिए । माओवादी भन्थे, ‘गाउँमा थिचोमिचो छ । असमानता र विभेद छ । गरिबी र उत्पीडन छ । जमिन्दारको ज्यादती छ, यो अन्त्य हुनुपर्छ । जुन सबै जनयुद्धबाट मात्र सम्भव छ ।’

उनलाई पनि लाग्यो, ‘थारु किसान कमैया/कम्लहरी जीवनबाट मुक्त हुनुपर्छ । जमिन्दारी प्रथाको अन्त्य र उनीहरुको हकअधिकार सुनिश्चित हुनुपर्छ ।’ यी सबैको निकास आखिर जनयुद्धबाटै सम्भव रहेछ भन्ने ठानेर उनी युद्धमा होमिए । बन्दुकको नालमा वर्गीय, जातीय र सबै खालका विभेद अन्त्य गर्नुपर्छ भन्दै उनले युद्धको बाटो रोजे ।

****

१३ जेठ ०५९ मा रुकुमको खाराको सैनिक ब्यारेक आक्रमणमा उनी अग्रमोर्चामा थिए । त्यही क्रममा गोली लाग्दा उनले बायाँ आँखा गुमाए । गोलीले ठाउँ-ठाउँमा शरीर वारपार गर्‍यो । छर्रा शरीरभित्रपस्यो ।

शान्ति प्रक्रियापछि ५ लाख बुझेर उनी घर फर्किए । संसार जित्ने सपनाले युद्धमा होमिएका उनीसँग फकिर्ंदा घाइते शरीरमात्र थियो । ‘बलवैंश युद्धको मैदानमा बित्यौं । बद्लामा घाइते शरीर पायौं । बाचेर पनि मरे सरह भयो ।’ उनी विगत सम्झेर लामो सुस्केरा हाल्छन् ।

घरमा उनकी श्रीमती, एक छोरा र छोरी छन् । युद्धका घाइते उनीआफैं केही गर्न सक्दैनन् । कसरी खाने भन्ने चिन्ताले सताउँछ । त्यसमाथि औषधि खाइराख्नुपर्छ । सरकारले दिँदै हुँदै आएको जीवननिर्वाह भत्ता आफैंमा अपुग थियो । औषधि किन्न समेत नपुग्ने । अहिले त्यही पनि कटौती गरिदिएपछि बिचल्ली परेको उनी सुनाउँछन् ।

यता, शरीरभित्र रहेका बमका छर्राले झक्झक्याइरहन्छन् । गर्मीताका शरीर भित्रको छर्रा तात्दा शरीर पोल्छ । हिउँदमा चिसाले कठ्याङग्रिन्छ । त्यही घाउले उनी मर्माहत हुन्छन् । तर त्योभन्दा धेरै नेताहरुले परिवर्तनका सपना देखाएर मर्नु न बाँच्नुको अवस्थामा छोडिएको सम्झँदाउनलाई असैह्या पीडा हुन्छ ।

‘कोरा आर्दश देखाएर नेता, कमाण्डरहरु सत्ता स्वार्थमा लागे’ उनले भने ‘उपचार नपाएर हामीबाँचेर पनि मरे जस्तैभएका छौं । सत्ताले अन्धो बनेका नेताले हाम्रो दुर्दशा देख्दैनन् । युद्धका नाममा नेतालाई माथि पुर्‍याउने काममात्र भयो ।’ विगत सम्झेर आत्मग्लानी हुन्छ, उनलाई ।

अन्धो सत्ता

उसो त जुन पार्टीको निर्देशनमा मुलुकमा जनयुद्ध भयो । त्यही पार्टी पटकपटक सत्तामा पुग्यो । २०६३ सालको शान्ति प्रक्रियापछि.नेकपा माओवादी पार्टी पटकपटक सरकारमा पुग्यो । जनयुद्धकै मुख्य कमाण्डर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने । रामबहादुर बादलगृहमन्त्रीभए । जर्नादनशर्मा अहिले मुलुकको अर्थमन्त्री छन् ।

अहिले फर्केर हेर्दा उनलाई नेतालाई सत्तामा पुर्‍याउनमात्र लडिएछ कि भन्ने लाग्छ । ‘हामी जुन सपना बोकेर युद्धमा होमियौं मुलुकमा त्यो परिवर्तन भएन । नेताहरु बने, देश बनेन । बरु हाम्रो स्थिति झन् बिग्रिँदै गयो ।’

बरु अहिले त्यही शरीर उनी आफ्नै लागि भारी बन्यो । ‘हाम्रै योगदानमा मुलुकमा जनयुद्ध सम्भव भयो । परिवर्तन आयो । तर हामी भागीदार हुनपाएनौंं,’ उनी भन्छन् ।

घर न घाट

तुलसीपुर-१८ हेमन्तपुरका भुलप्रसाद विकले जातीय, वर्गीय विभेद र सबैखालका विभेद अन्त्य हुनुपर्छ भन्दै युद्धमा सरिक भए । युग फेर्ने  सपना बोकेर जनयुद्धमा होमिएका भुलप्रसाद विक अहिले  सामान्य हिँडडुल गर्दा पनि बैशाखीको  सहारा लिन्छन् ।

२०५९ सालमा जुम्लाको  सदरमुकाममा भएको  युद्धमा उनले  दाहिने  खुट्टा गुमाए । अथवा युद्धले उनको एउटा खुट्टा नै लिएर गयो । उनलाई अहिले न गरी खानु न मरीलानु झैँ भएको छ आफ्नै जिन्दगी ।

के कसरी जीवन चलाउने भन्ने चिन्ता छ ।’कामगर्न सक्ने स्थिति छैन । परिवार चलाउन धौं-धौं छ । कसरी जीउ पाल्ने भन्ने पिरले दितरात सताउँछ’ उनी भन्छन्, ‘हामी त घर न घाटका भयौं ।’

विगत सम्झेर उनी पनि पश्चात्ताप गर्छन् । ‘गणतन्त्र ल्याउने  सपनाबोकेर हिँड्डा न घरपरिवार भनेनौं । आफ्नो जीवनको प्रवाह नगरी युद्ध लड्यौं’- उनले  भने , ‘अंगभंग भयौं । तर पार्टीले  त्यो  सबै  बिर्सियो   । हामी कहाँ छौं । कुन अवस्थामा छौ  भन्ने  खोजिनिती समेत गरेको  छैन ।’

जुन परिर्वतनका सपना देखेर उनी युद्धमा होमिएका थिए । त्यो मुुलुकपरिवर्तन र जनताका लागिभन्दा पनि नेताका लागि गरिएको जस्तो उनलाई अनुभूति हुन्छ ।

‘हामीले लडेको युद्धको बलबुतामा आज नेताहरु सत्तामा छन् । उनीहरु हामीलाई देख्दैछन् ।’ उनी आक्रोश पोख्छन् ।
उनी आफ्नो अवस्थाबारे बुझाउन नेता कहाँ नपुगेका होइनन् । पटक-पटक आफ्नो अवस्था बारे कमाण्डर र नेताहरूलाई बताए । तर आश्वासनबाहेक केही पाएनन् ।

‘युद्धबिरामपछि नेताहरु सत्ता स्वार्थमा केन्दि्रत भए । घाइते लडाकुलाई बिर्सिर्ए’ उनी भन्छन्, ‘सत्तामा पुगेपछि उनै कमाण्डरले हामीलाई चिन्न छोडे । बरु घाइते भनेर घृणा गर्न थाले ।’

‘परिवर्तनका सपना देखाएर हामीलाई युद्ध लडाए । आज उनी सत्तामा छैन, हामीभुईमा’ लामो सुस्केरा हाल्दै उनी भन्छन्- ‘यही त हो, भुइँ र सत्ताबीचको फरक छ ।’

पटकपटक सत्तामा पुगे पनि नेताहरूले आफूलाई बिर्सिएको उनको गुनासो छ । उनी भन्छन्, ‘नेताले हाम्रो बलिदानलाई सम्झिएको भए यसरी बाँच्नुपर्ने  थिएन ।’

बंगलाचुली गाउँपालिका-२ का ३१ वषर्ीया कुमारी नेपाली पूर्वमाओवादी छापामार हुन् । पुरुषसरह उनले पनि मुलुकको परिवर्तनका निम्ति लडिन् । जातीय, वर्गीय मुक्ति र देशमा आमूल परिवर्तनका निम्ति बमगोला र बारुदसँग खेलिन् । पुरुषसरह युद्धको अग्रमोर्चामा अगाडि सरिन् । गरिबी, असमानता र ज्यादतीविरुद्ध लड्नुपर्छ भन्दै उनी मर्न पनि तयार भइन् ।

कुनैदिन घरगृहस्थी गरी बसिएला भनेर उनलाई रति पनि लागेको थिएन । उनी त दिनरात बन्दुकको  नालबाट परिवर्तनका सपना देख्थिन् । तर शान्ति प्रक्रियापछि उनी घर फर्किइन् । संसार जित्ने सपनाबोकेर युद्धमा होमिएकी उनीसँग घर फर्किंदा आधा घाइते शरीरमात्र थियो । कपिलवस्तुमा भएको लडाइँमा परेर उनले गोली लाग्दा उनले बायाँ आँखा गुमाइन् । युद्धले उनको आधा उज्यालो लग्यो, आधा बाँकी छ ।

उनका श्रीमान् निमबहादुर नेपाली पनि लडाकु थिए । शान्ति प्रक्रियापछि दुवै घर फर् के । तर जीवन निर्वाह गर्न कठिन भइदियो । युद्धबाट फर्किएपछि जीवन चलाउन उनका श्रीमान् खाडी पुगे । अहिले उनी दुई छोरा र एक छोरीसँग बस्छिन् ।

उनलाई अहिले परिवारको जोहो र सन्तानको शिक्षादीक्षाको पिरलो छ । बुझ्दै आएको जीवन निर्वाहभत्ता पनि सरकारले कटौती गरिदियो । ‘अब के खाएर बाँच्ने हो, छोराछोरी कसरी हुर्काउने हो ?’ उनी भन्छिन्, ‘युद्धको बेलामा नेताहरुले सबै जिम्मा लिन्छौं भन्थे । अहिले उनीहरु फर्केर आउँदैनन् । हामीले नै लडेर ल्याएको दुई तिहाइको सरकारले पाउँदै आएको जीवननिर्वाह भत्तापनि काटिदियो । अब कसरी बाँच्ने ?’

युद्धले उनलाई केही दिएन । बरु आधा शरीर लग्यो, बचेको आधा शरीर आफैंलाई बोझभयो । आफ्नै नेताले बिर्सिएपछि उनलाई अब केही आश छैन । ‘हाम्रा कमान्डरहरू अहिले ठूलो पदमा छन्’ उनी भन्छिन्, ‘उनकै निर्देशनमा जिउन ज्यानको प्रवाह नगरी लड्यौं । अहिले हाम्रो आँसु नेताहरु देख्दैनन् । नेता र कमान्डरले हामीलाई बिर्से ।’

घाइते लडाकु सहदेव चौधरी ।

दुईतिहाइ सरकार अभिसाप

जुन पार्टी मुलुक परिवर्तनका निम्ति होमियो । त्यही पार्टी नेकपा एमालेसँग मिलेर मुलुककै ठूलो पार्टी नेकपा बन्यो । सोचेका थिएँ- मुलुकै ठूलो पार्टी भएपछि पार्टी शक्तिशाली बन्यो । आफ्नै कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठूलो पार्टीको कार्यकारी अध्यक्ष बने । आफ्नै पार्टीको सरकारले त केही त गर्ला की ? तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो । जे पनि गर्न सक्थे । तर आफूले लडेको पार्टी सत्ताजानु नै लडाकुका लागि झन् अभिसाप भइदियो । घाइते लडाकुले खाँदै आएको भत्ता काटिदिएपछि उनीहरु झन् आक्रोशमा छन् ।

अर्काे घाइते लडाकु हुन्- सहदेव चौधरी । रुकुमको खारा आक्रमणको भिडन्तमा औंलामा गोलीलागेर उनी घाइते भए । घाइते लडाकुको वर्गीकरण छुटेकाले उनले घाइतेले पाउनुपर्ने निर्वाह भत्ता समेत पाएनन् ।

जनयुद्धका भुक्तभोगी उनलाई पार्टीले घाइते लडाकुलाई केही गर्ला भन्ने कुनै आश छैन । उनी भन्छन्- ‘जसका लागि लड्यौं, त्यही पार्टी पटकपटक सत्तामा पुग्दा पनि हामीलाई हेरेनन् । सँगै लडेका कमाण्डर अहिले पनि सत्तामा छन् । आफ्नै पार्टी मुलककै शक्तिशाली पार्टी बन्यो । तर पनि हामीलाई हेरेनन् । बरु घाइते लडाकुले खाँदै आएको जीवन निर्वाह भत्तासमेत काट्यो । अब झन् के आश गर्नु ?’

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघका अनुसार दाङमा मात्रै ७ सय ५० जना घाइते- अपाङ्ग पूर्वलडाकु छन् । ‘सबैको दुर्दशा एउटै छ’ संघका जिल्ला संयोजक खगेश्वर घर्तीले भने, ‘हिजो पार्टी र क्रान्ति भनेर युद्ध लडे, आज मरेतुल्य बाँचेका छन् ।’