कांग्रेसको सरकारले घोषणा गरेको धनकुटा छिन्ताङ्गका राष्ट्रिय शहिद परिवारद्वारा कुनै पनि पार्टीको लेबल-ट्याग स्वीकार्य नहुने उद्घोष


कार्तिक २८ धनकुटा ।

छिन्ताङ हत्या काण्डका शहिद परिवारहरुले कुनै पनि पार्टीको लेवल-ट्याग स्वीकार्य नभएको बताएका छन् ।

४३ औ छिन्ताङ शहिद दिवसको अवसरमा शहिदभूमी गाउँपालिका शहिद परिवार धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै शहिद परिवारहरुले त्यस्तो बताउनु भएको हो ।

छिन्ताङ हत्या काण्डका शहिदहरुलाई पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवम् नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल शहादुर थापाको पहलमा २०७४ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय शहिद घोषणा गरेको थियो । यसअघि शहिद पार्कमा छिन्ताङ हत्या काण्डका १६ जना शहिदको मात्र शालिक राखिएकोमा हाल जनयुद्ध कालमा शहादत्त प्राप्त गरेका शहिदहरु चित्त कुमार राई (नकुल),तिलक राई (अजय),तीर्थ राई (समिर) र नगेन्द्र प्रसाद राईको पनि शालिक स्थापना गरिएको छ ।

आफ्ना परिवारका सदस्यले कुनै एक राजनीतिक दलको स्वार्थका लागि नभई देश विकास र परिवर्तनका लागि आफ्नो जीवन वलिदान दिएको भन्दै शहिद परिवार र शहिदहरुलाई कसैले पनि पार्टीगत ट्याग लगाउन नमिल्ने शहिद परिवारका सदस्यहरुले वताएका छन् ।

देशका निम्ति जीवन आहुति दिएका शहिदका परिवारलाई पटक-पटक दोसल्ला र माला पहिर्याएर सम्मान मात्र गर्नु भन्दा सरकारले शहिद परिवार भनि परिचय पत्र प्रदान गर्नु पर्ने माग समेत राखेका छन् । साथै उनिहरुले यसअघि शहिद दिवस कसैले कार्तिक २७ कसैले कार्तिक २९ गते मनाई रहेकामा खास शहिद दिवस कार्तिक २८ गते मनाउने बताएका छन् ।

छिन्ताङ हत्या काण्डका १६ जना शहिदहरुको शालिक स्थापनाका लागि तत्कालिन (माले) का महासचिव मदन भण्डारीले २०४७ साल कार्तिक २८ गते शिलान्यास गरेको कारण यही दिनलाई शहिद स्मृती दिवसको रुपमा मनाउन थालेको उनिहरुले बताएका छन् । शहिद पार्कको भने तत्कालिन प्रधानमन्त्री हाल नेकपा (एकिकृत) समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले २०५३ सालमा उद्घाटन गर्नुभएको थियो ।

शहिद परिवार सहित विभिन्न राजनीतिक दलका प्रतिनीधिले उपस्थिती जनाएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शहिद परिवारलाई वर्तमान सरकारले मासिक ३ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी गराएका थिए । साथै शहिद परिवारलाई दिने भनिएको १० लाख राहत अघिल्लो सरकारको पालामा क्याविनेटमा रोकिएकोमा अब यही सरकारले उपलब्ध गराउने सहभागी बक्ताहरुले बताएका छन् । गठबन्धन दलहरुको पहलमा शहिद सप्ताहको अवसर पारि शहिद परिवारलाई प्रशिक्षण दिने पनि वक्ताहरुले बताउनु भएको थियो ।

कार्यक्रममा शहिद परिवारको तर्फबाट गोपाल आनन्दका छोरा डिक बहादुर राई,शहिद सरोकार समाज धनकुटाका अध्यक्ष तथा आँखिल्ला गाविसका पूर्व अध्यक्ष तिलक प्रसाद राई, नेकपा माओवादी केन्द्रका जिल्ला सह ईञ्चार्ज डिल्लीराम राई,गाउँ कमिटी सह ईञ्चार्ज भरत सिंह राई,जनता समाजवादी पार्टीका गाउँ कार्य समितिका सह ईञ्चार्ज नाथुराम राई लगायतले मन्तव्य राख्नु भएको थियो ।

छिन्ताङ विद्रोहका महान शहिदहरु अम्मर रहुन्” भन्ने नाराका साथ २०३६ साल छिन्ताङ हत्या काण्डका शहिद लाखमान साधुका छोरा गंगा बहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!