सैनिक जवानभन्दा कुकुरको भत्ता बढी !




१० कात्तिक, काठमाडौं । मान्छेभन्दा कुकुरको भत्ता बढी ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । अझ नेपाली कुकुर संयुक्त राष्ट्र संघमार्फत द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा पनि खटिन्छन् भन्ने सुन्दा अचम्म लाग्ला ।

तर, नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकुरको वास्तविकता हो यो ।

गुल्मका सह-सेनानी मनोज राउतका अनुसार यहाँका ९३ कुकुरको दैनिक रासन स्केल प्रतिकुकुर ३८१ रुपैयाँ छ । यो सैनिक जवानको स्केलभन्दा दोब्बर बढी हो । अहिले सैनिक जवानले रासन वापत दैनिक १५३ रुपैयाँ पाउने गरेका छन् ।

‘कुकुरलाई एकदमै हाइजेनिक र डाइट अनुसारको खानेकुरा खुवाउनुपर्ने भएकाले खर्च बढी हुन्छ’, राउतले अनलाइनखबरसँग भने, ‘हामीले कुकुरलाई दैनिक ८ सय ग्राम राँगाको ताजा रातो मासु, आधा लिटर दूध, चामल, हरियो तरकारी, डग विस्कुट लगायत खुवाउने गरेका छौं ।’

गुल्ममा रहेका कुकुरमध्ये चारवटा अहिले लिबियामा शान्ति स्थापनार्थ खटिएका छन् । गुल्मका अनुसार हतियार र विष्फोटक पदार्थ सुँघ्ने क्षमता भएका माइकल र रेक्स नामका कुकुर त्यहाँ कार्यरत् छन् । बुजो र टोनी नाम गरेका सुरक्षागार्ड कुकुर पनि मिसनमै खटिएका छन् ।

चारवटै सैनिक कुकुर ६ पुस ०७४ मा काठमाडौंबाट उडेका थिए । तीमध्ये माइकलको विकल्प खोज्न संयुक्त राष्ट्र संघले नेपाली सेनालाई भनेको छ । तर, उसको विकल्पमा कुन कुकुरलाई पठाउने भन्ने टुंगिसकेको छैन ।

‘माइकल १० वर्षको भयो । बुढो भएपछि काम गर्न अफ्ठ्यारो हुन्छ’, राउत भन्छन्, ‘त्यसैले विकल्प मागिएको हो ।’

सामान्यतः कुकुरको जीवनकाल १० देखि १४ वर्षसम्म हुन्छ । सैनिक कार्यका लागि भने ८ वर्षसम्म प्रयोग गर्ने गरिएको छ ।

सैनिक कुकुरको इतिहास

नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सैनिक कुकुर रहेको भैरव वाहन गुल्म १ सय ३६ वर्ष पुरानो इतिहाससँग जोडिन्छ । तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहदेवका पालामा यो गुल्म स्थापना भएको हो ।

त्यसबेला नेपाल र भोटको सम्बन्ध विच्छेद भएपछि ओलाङचुङगोला, धुर्कोट, भिलोसिभ पर्वत र कुटीसम्म सैनिक हतियार ओसार-पसार गर्नका लागि भारतको पञ्जाबबाट २०० म्यूल खच्चड राखेर ‘म्यूल ब्याट्री’ नामक गुल्म स्थापना गरिएको थियो ।

पछि १ वैशाख ०४३ सालमा पशुपरिवहन गुल्मका रुपमा रुपान्तरण गरेर अन्य पशुलाई पनि गुल्ममा राख्न थापिएको इतिहास छ । ‘तालिम प्राप्त सैनिक कुकुरको आवश्यकता महसुस गरेर दरबन्दी राख्न थालिएको भने २० मंसिर २०५५ सालदेखि हो’, सहायक रथी पाण्डे भन्छन्, ‘त्यसवेला सरकारको निर्णयअनुसार ४० वटा कुकुरको दरबन्दी रहने गरी डग प्लाटुन खडा गरिएको थियो ।’

०५९ सालमा केनल कम्पनी हुँदै ०६० सालमा भैरव वाहन गुल्मको रुपमा नामाकरण भएको इतिहास छ ।

त्यसबेलैदेखि पूर्वी, मध्य र पश्चिम पृतनामा रहने गरी ३७ जनाको दरबन्दी र महावीर रेन्जर गणमा ४ जना गरी ४० जना इआरई काजमा खटाउने गरी २६६ संख्याको दरबन्दी कायम गरिएको थियो । हाल यो संख्या बढेर २८० को दबन्दीमा पुगेको छ भने अहिले यो गुल्मले पशु चिकित्सा निर्देशनालय अन्तरगत रहेर काम गर्दै आएको छ ।

सैनिक कुकुरको महत्व

मानिसभन्दा कुकुरको ४५ गुणा बढी सुँघ्ने र २० गुणा बढी सुन्ने शक्ति हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ । तालिम प्राप्त कुकुरले ७२ घन्टा पुरानो गन्धमा २६ किलोमिटरसम्म पछ्याउन सक्ने विज्ञ बताउँछन् ।प्रथम र दोस्रो विश्व युद्धका बेला पनि कुकुरको प्रयोग भएको इतिहास छ

‘हाम्रो छालाबाट मृत कोषिकाहरु हरेक मिनेटमा झरिरहेका हुन्छन् । तिनीहरुको गन्धका आधारमा तालिम प्राप्त कुकुर अपराधीसम्म पुग्ने हो’, एक हग ह्याण्डलरले सुनाए, ‘मानव शरीरबाट प्रतिमिनेट ४० देखि ६० हजार वटासम्म कोषिकाहरु झर्ने गर्छन् । त्यहाँबाट निस्किने गन्ध एउटा मान्छेबाट अर्कोसँग मिल्दैन ।’

घटनास्थलमा भेटिने त्यस्ता कोषिकाहरु सुँघेर कुकुरले पछ्याउँछ । त्यसैले प्रथम र दोस्रो विश्व युद्धका बेला पनि विभिन्न प्रयोजनमा कुकुरको प्रयोग भएको इतिहास छ ।

नेपाली सेनाको कुकुरले १२ वैशाख २०७२ मा गएको भूकम्पमा १९ वटा शव भग्नावशेषबाट निकालेको सह-सेनानी अच्युत थापा सम्झन्छन् ।

उनका अनुसार भूकम्प गएको दुई दिनपछि भक्तपुरको च्यामासिङ र काठमाडौंको सीतापाइलाबाट ४/४, तीन दिनपछि कमलविनायकबाट ४, छ दिनपछि भक्तपुरकै भेलुखेलबाट एक र २९ वैशाखमा सिन्धुपाल्चोकको थाङ्पालधापबाट एउटा गरी १९ वटा शव सैनिक कुकुरले निकालेको थियो ।

भूकम्पका वेला खोजी तथा उद्दारमा ल्याब्रोडर जातका विशेषज्ञ कुकुर परिचालित भएका थिए । तर, निकै सानो प्वालमा ती कुकुर छिर्न नसकेकाले उद्दारमा कठिनाइ महसुस भयो । त्यसैले अहिले ककर स्पाइनल जातका दुईवटा कुकुर ल्याइएका छन् ।

‘ककर जातको कुुकुर सानो हुन्छ । त्यसैले भग्नावषेशमा रहेको सानो प्वालमा पनि छिर्न सक्ने भएकाले ल्याएका हौं’, थापाले अनलाइनखबरसँग सुनाए, ‘यो कुकुरलाई हामीले स्थानीय क्यानल क्लबबाटै ल्याएर सैनिक कार्यका लागि तयार पारेका छौं ।’

उनका अनुसार सर्वसाधारणको कुकुर सैनिक प्रायोजनका लागि प्रयोग गर्नुअघि उसको इतिहास पनि हेर्ने गरिन्छ । स्वास्थ्य अवस्थादेखि माउ भालेपोथीको सबै विवरण हेरेर योग्य भए मात्र खरिद गरिन्छ ।

ककर जातको कुुकुर

तालिम

सेनाले कुकुर जन्मिएको ६ महिनापछि तालिम दिन सुरु गर्ने गरेको छ । सर्वसाधारणबाट खरिद गर्दा पनि ६ महिनाभन्दा कम उमेरकै किन्ने गरिएको सैनिक अधिकृतहरु बताउँछन् ।

प्रारम्भमा हरेक कुकुरलाई तीन महिनाको बीओटी (बेसिक ओविडेन्स तालिम) दिइने गरिन्छ । यो तालिमबाट कुकुरको विशेषता पहिचान गर्ने गरिन्छ । त्यसपछि जात, क्षमता र स्वभावको आधारमा विशेष ट्रेडको तालिम दिएर सैनिक कार्यका लागि परिपक्व बनाइन्छ ।

अहिले सेनामा ५ प्रकृतिका कुकुर छन् । सह-सेनानी थापाका अनुसार ल्याब्रोडर, ककर स्पाइनल, जर्मन सेर्फड, गोल्डेन रिभट्राइबर र बेल्जियम सेर्फड जातको कुकुरले सैनिक कार्यमा सहयोग गरिरहेका छन् ।

तीमध्ये ल्याब्रोडर जातका कुकुर अनुशासित र शान्त स्वभावका हुन्छन् । त्यसैले प्रायः विष्फोटक पदार्थको खोजी यो जातको कुकुर प्रयोग गरिन्छ ।

जर्मन सेफर्ड जातका कुकुर बढी रिसाहा र चञ्चल स्वाभाव हुने गर्छन् । त्यसैले यो जातका कुकुरलाई ‘ट्रयाकर र गार्ड डग’ का रुपमा प्रयोग गरिन्छ । ट्रयाकर कुकुरलाई फरार अभियुक्त पत्ता लगाउन प्रयोग गरिन्छ ।

नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीसहित कुटनीति नियोगका विशिष्ट व्यक्तिको सवारीअघि ‘एरिया क्लियरेन्स’ कार्यमा ल्याब्रोडर जातका कुकुर प्रयोग गरिन्छन् ।

ल्याब्रोडर र जर्मन सेर्फ्डलाई बीओटी तालिममा देखाएको कौशल अनुसार ‘आर्म्स एण्ड एक्सपोसिभ्स डिटेन्सन’ कार्यमा पनि प्रयोग गरिन्छ । भीभीआईपी पाहुनाको मुभमेन्टका समयमा पनि यो कुकुर परिचालन गर्ने गरिएको छ ।

एक महिनाअघि भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीमा पनि यी कुकुर प्रयोग गरिएका थिए । ककर स्पानल कुकुर चलाख, फुर्तिलो र निडर स्वभावको हुने भएकाले दैवी प्रकोपका वेला उद्दार कार्यमा प्रयोग गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।

विभिन्न प्राकृतिक प्रकोपमा पुरिएका मानिस सुघेँर पत्ता लगाउन क्षमता भएका यस किसिमका कुकुरलाई ‘सर्च एण्ड रेस्क्यू डग’ भनिन्छ । यो जातका कुकुरलाई विभिन्न सैनिक समारोहमा कला प्रदर्शनका लागि पनि प्रयोग गर्ने गरिएको छ ।

सैनिक कौशल देखाउँदै सैनिक कुकुर।

द्वन्द्वको समयमा फौजलाई शत्रुको एम्बुसमा पर्नबाट जोगाउन वा पूर्व जानकारी दिनका लागि इन्फ्रेन्ट्री पट्रोल कुकुर प्रयोग गरिन्छ ।

सबै किसिमको जलवायुमा काम गर्न सक्ने तीब्र स्मरण शक्ति र बुद्धिमत्तापूर्ण कार्यका कारण सैनिक कुकुरलाई सजिलै काममा लगाउन सकिने सैनिक प्रवक्ता पाण्डे बताउँछन् ।

यो पनि पढ्नुहोस….अनि जोनीले लगायो बेष्ट डगको मेडल

लागूऔषध खोज्ने कुकुर पनि ल्याउने तयारी

रसुवामा ३० साउन २०६० सालमा गएको पहिरोका बेला ‘सैनिक सर्च एण्ड रेस्क्यू’ र ‘आर्म्स  एण्ड एक्सप्लोसिभ डग’ले उल्लेखनीय कार्य गरेको सेनाले जनाएको छ ।

त्यसबेला सैनिक कुकुरको संयुक्त खोज तलासबाट दुईवटा शव, दुई थान एलएमजी, ११ वटा एसएलआर, एसएमजी हतियार १० वटा, ७.६२ पेस्तोलको गोली १२ सय ५० राउण्ड गोली र २५ वटा ग्रिनेड बरामद भएको थियो ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०६० सालमा ललितपुरको थेचो क्षेत्रमा युद्ध भैरवसँगको संयुक्त कारबाहीमा ३ बोरो विष्फोटक पदार्थ भेटिएको थियो ।

त्यस्तै, ०६२ सालमा रानिवन जंगलमा हराएकी अमेरिकी महिलाको खोजीमा संलग्न भएर केही अवशेष भेटिएको थियो । १९ जेठ २०६६ सालमा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हराएकी अमेरिकी नागरिक ओब्री क्यारोलिन स्याको खोजतलासमा पनि सैनिक कुकुर खटिएको थियो ।

सेनाको कुकुर अहिले जोमसोममा रहेको उच्च शिखर शिक्षालयमा पनि खटिएको छ भने चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारी नियन्त्रणका लागि पनि खटिएको छ । भविष्यमा अन्य राष्ट्र निकुञ्ज र नाम्चेमा पनि सैनिक कुकुर खटाउने गुल्मको योजना छ ।

त्यस्तै, लागूऔषधको पहिचान गर्ने गरी तालिम दिएर दक्ष कुकुर उत्पादन गर्ने पनि गुल्मको तयारी छ ।

दैनिकी

सैनिक कुकुरको दैनिक बिहान साढे ६ बजे हुने पिटीबाट सुरु हुन्छ । पीटीपछि छुट्टै क्षेत्रमा लगेर स्टुलिङ गराइन्छ ।

हरेक दिन कुकुरलाई आधारभूत तालिममा सिकाइने विषयको पुनर्ताजगी कक्षा पनि लिइन्छ । यो १० बजेसम्म जारी रहन्छ । त्यसपछि बिहानको खाना खुवाएर घाममा राख्ने गरिन्छ । हरेक महिना सैनिक कुकुरको परीक्षा पनि हुन्छ ।

वर्षभरिमा देखाएको कार्य सम्पादन मूल्यांकनका आधारमा घोडेजात्रामा कुकुरलाई पुरस्कृत पनि गर्ने गरिन्छ । यो वर्ष प्यूठ रामजुन महतको क्याफर नामक कुकुर उत्कृष्ट घोषित भएको थियो ।

हरेक दिन अपरान्ह ह्याण्डरले कुकुरलाई मसाज गरिदिने गर्छन् । ‘यसमा नङ काट्ने, कपाल कोरिदिनेदेखि अन्य शारीरिक अंगको सरसफाइ पनि पर्छ’, सह-सेनानी राउतले सुनाए, ‘कुकुरको स्वास्थ्य स्थिति बुझ्न र ह्याण्डरसँग आत्मियता बढाउनका लागि यो महत्वपूर्ण हुन्छ ।’

यतिबेला कुकुरको कुनै अंगमा घाउ, चोट अथवा केही समस्या छ कि भनेर पनि हेर्ने गरिन्छ । र, बिहीबार हुने साप्ताहिक स्वास्थ्य परीक्षणका समयमा चिकित्सकलाई देखाउने गरिन्छ । जटिल प्रकृतिको रोग भए पशु सेवा निर्देशनालयमै पुर्‍याएर उपचार गरिन्छ ।

गुल्ममै रहेको अस्पतालमा कार्यरत् एक चिकित्सकका अनुसार सैनिक कुकुरलाई सबैभन्दा बढी समस्या किर्नाले पार्छ । ‘हरेक ३/३ महिनामा कुकुरलाई नुहाइ दिँदा कीर्ना नलागोस् भनेर औषधि पनि हाल्ने गरिन्छ’, ती चिकित्सकले भने, ‘दैनिक हुने मसाजको समयमा पनि ह्याण्डलरले शरीरबाट किर्ना झिक्ने गर्छन् ।’

कुकुरको कपाल कोरिदिँदै सैनिक जवान ।

मसाजको समयमा मलद्वारबाट र्‍याल वा सिगान निस्किएको छ भने कुकुर बिरामी हुनसक्ने उनले बताए । गर्मीको समयमा दाद र कान पाक्ने समस्या पनि देखिने गरेको चिकित्सक बताउँछन् ।

नियमित खाना खाएको छैन भने पनि अस्वस्थ हुन सक्ने उनले बताए । त्यस्तो अवस्थामा गुल्ममै रहेको अस्पतालका पशु चिकित्सकले तापक्रम जाँचेर एन्टिवायोटिक दिने गरेका छन् । एक्स रे, भिडियो एक्सरे गर्नुपर्ने अवस्थामा चाहिँ ‘डग क्यारिङ भेइकल’मार्फत भद्रकालीमै ल्याइने गरिएको छ ।

साभार Online Khabar.com