केपि ओलिले सम्सदलाई कुहिएको छानो हो भने पछि।

11Shares

पौष २०
काठमाडौं । पार्टीभित्रको विग्रह व्यवस्थापन गर्न नसकेपछि दुईतिहाइ जनमत प्राप्त सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो । पार्टी मात्र छिन्नभिन्न भएन, त्यसको मार संसद्ले पनि खेप्नुपर्‍यो । पार्टीभित्रको विग्रह फराकिलो बनाउन संसद्ले पनि भूमिका खेलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गरे । पार्टीको आन्तरिक कलहको मार संसद्ले खेप्नुपर्‍यो ।

यसले पनि नेकपा विभाजनमा महत्त्वपूर्ण भूमिका खेल्यो । अहिले विभाजित घटकहरूमध्ये पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडक-संघर्षमा छ । दुई चरणमा गरी झन्डै एक महिना लामो सडक-संघर्ष तय गर्दै प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनदबाब सिर्जना गरिरहेको छ ।

उता संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । आइतबार मात्रै प्रधानमन्त्री, राष्ट्रपति र सभामुखले विघटनबारे छुट्टाछुट्टै जवाफ पनि दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विघटनको राजनीतिक औचित्य पुष्टि गर्न आफैँ निर्वाचित भएर आएको संसद्प्रति निकै अशिष्ट, अमर्यादित र गैरसंसदीय चरित्रबाट प्रस्तुत हुन थालेका छन् । उनका पछिल्ला भाषणहरूले त्यसैको अभिव्यक्ति दिन्छ ।

विभाजित नेकपाको कृष्ण राई नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद्लाई कुहिएको, चुहिएको छानोसँग तुलना गरे ।

उनले छानो चुहिएर खरहरू लाखापाखा लागिसकेको अवस्थामा त्यसलाई टालटुल गर्न सकिने सम्भावना नदेखेर विघटन गरिदिएको भन्दै आफ्नो कदमको बचाऊ गर्न खोजे । “जोसँग लगभग दुईतिहाइ छ, ताजा जनादेश चाहियो भनेपछि अरूले.. । घरवाला भन्दैछ छानो चुहियो अर्को बनाउँछु भनेर । छानो भत्कायो । पुरानै छानो चाहिन्छ भनेर हुन्छ र कहीँ त्यो ? पुरानो भयो छानो, चुहियो । चुहिएको छानोले.. खाट सार्ने ? सिरक कता बोकेर कुद्‍ने ? त्यसकारण चुहिएको छानोले भएन । नयाँ हाल्ने । पुरानै हाल्ने, पुराना खरका टुक्रा खोज्ने, हुने कुरा होइन यो,” विघटित प्रतिनिधिसभाप्रति उनको दृष्टिकोण थियो ।

जनताको मतमार्फत निर्माण भएको थलोप्रति प्रधानमन्त्रीको यसप्रकारणको दृष्टिकोण देखिएपछि पूर्वसभामुख तथा कांग्रेसका नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका थिए । माइक्रो ब्लगिङ साइट ट्विटरमा अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो चिन्तन राख्ने ओली प्रधानमन्त्री रहन योग्य नरहेको बताएका थिए ।

“प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानशाह प्रवृत्ति हुन्, उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्,” उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले आइतबार पनि विघटित प्रतिनिधिसभाप्रति रोष प्रकट गर्न छाडेनन् । उनले महाभारतको मिथ पस्कँदै जमदग्नि ऋषिको पालामाजस्तो मरेकालाई ब्युँताउन नसकिने भन्दै कटाक्ष गरे ।

“नयाँ वर्ष लाग्नेबित्तिकै २०७८ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । कतिपय व्यक्ति, शक्तिहरूले भ्रम, अन्योल फिँजाउन खोजिरहेका छन्- चुनाव हुँदै-हुँदैन भनेर । म साथीहरूलाई आग्रह गर्न चाहन्छु- त्यस्ता भ्रममा नपर्नुस्, चुनाव वैशाख १७ गते हुन्छ । चुनाव वैशाख २७ गते हुन्छ । दुई दिनमा गरेर, दुई चरणमा चुनाव हुन्छ । यस चुनावलाई टार्न, पर सार्न अथवा अल्मल्याउन कसैले पनि सक्नेछैन । यो नेपाली जनताको चाहना हो, आवश्यकता हो । अहिलेको आवश्यकता हो । त्यसकारण चुनाव तोकिएकै समयमा हुन्छ । मैले यसो भनिरहँदा साथीहरूले बुझ्नुभयो होला, अहिले म भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाको फिरादपत्र दर्ता गराएर आएको छु,” ऐन महर नेतृत्वको विभाजित अनेरास्ववियूले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरेको संसद् बौराइ पाऊँ ! परशुरामका बाबु जमदग्निको पालामा जस्तो मरेकी आमालाई बौराइदिऊँ भन्दा हुन्छ र ! संविधान, कानुनले मिल्दैन । त्यसकारण विघटित संसद् बौरिँदैन । संसद् विघटन भयो, भयो । नयाँ चुनाव हुन्छ, हुन्छ ।”

अर्का पूर्वसभामुख दमननाथ ढुंगानाले ओलीको यस्तो अभिव्यक्तिले कस्तो प्रधानमन्त्री जिताइएछ भनेर जनताले आफैँ मूल्यांकन गरिरहेको बताउँछन् ।

ओली त्यसै पार्टी अध्यक्ष, संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको निर्वाचित नभएको, प्रक्रियाबाटै आएकाले जनताले स्वयं आत्मबोध गरिरहेको बताउँछन् । उनी भन्छन्, “हाम्रो प्रक्रियाबाट उहाँ नै प्रधानमन्त्री हुनुभएको हो, उहाँजस्तो प्रधानमन्त्री हुनुहुन्छ जनताले प्रस्ट जानकारी पाउनुपर्छ, राम्रै भएको छ,” उनी कटाक्ष गर्छन्, “प्रक्रियाबाट आएको, मतबाट आएको प्रधानमन्त्रीले के टिप्पणी गर्नुहुन्छ, हुँदैन आफैँले महसुस गर्ने कुरा हो ।”

पूर्वसभामुख ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली २०४७ सालकै संविधानको वरिपरि रहेको चित्रित गर्छन् । “प्रतिनिधिसभा विघटन विल्कुलै संविधानसम्मत छैन । उहाँले २०४७ सालकै प्रावधान हेर्नुभएको हो । यो संविधान हेर्नुभएकै होइन,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “जवाफमा पनि उहाँले संसदीय परम्परा भन्नुभएको छ, लिखित संविधान भएको देशमा जे लेखिएको छ त्यही हुन्छ, परम्परा भन्ने हुँदैन । परम्परा त त्यहाँ हुन्छ, जहाँ लिखित संविधान छैन । मौजुदा संविधानको धारा ७६ ले त्यो परम्परा काटिदियो । उहाँ प्रधानमन्त्री २०७२ को संविधानअनुसार बन्नुभयो । संसद् विघटनचाहिँ २०४७ सालकै संविधान पढेर गर्नुभयो ।” बाह्र खरी बाट

11Shares