धनकुटामा १ सय १ सदस्यीय एमालेको समानान्तर कमिटि बन्यो।


चैत २२ धनकुटा ।

वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा एमालेले धनकुटा जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

हिजो जिल्लामा भएको भेलाले अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय नेकपा एमाले समानान्तर कमिटी गठन कार्य सम्पन्न गरेको हो ।

नव गठित नेकपा एमाले समानान्तर कमिटीको सचिवमा खगेन्द्र सुवेदी रहनु भएको छ ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मराज पौडेलले आम नेता कार्यकर्ताहरूलाई एकता विपरीत र विधान विपरीत कार्य नगर्न अनुरोध गर्दै एकताबद्ध कम्युनिष्ट पार्टीको निम्ति लागिरहन भेलामा उपस्थित कार्याकर्तालाई आग्रह गर्नु भयो ।

जिल्ला भेलाले नेकपा एमालेको विधि, नीति, विचार बमोजिम पार्टीलाई अगाडि बढाउन प्रयत्नरत नेताहरूलाई कारबाही गरिएको भनी प्रचारित गतिविधिलाई अस्विकार गर्ने निर्णय गरेको नेकपा एमाले समानान्तर कमिटिका अध्यक्ष राईले बताउनु भयो ।

जिल्ला भेलाले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्माओलीले विधान विपरीत केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी विघटन गर्दै गरेका कार्यहरुप्रति घोर निन्दा र आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतले पुरानो पार्टी व्युँताउने निर्णय राजनीतिक कोणबाट अप्राकृतिक रहेको ठहर गर्दै भेलाले बृहत वाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै अघि बढ्ने आवश्यकता रहेको ठहर गरेको नेकपा एमाले समानान्तर कमिटिका अध्यक्ष राईले बताउनु भयो ।हिजो सम्पन्न जिल्ला भेलाले सबै नेता कार्यकर्तालाई कम्युनिष्ट एकताको पक्षमा लाग्न आब्हान समेत गरेको छ।