धनकुटा छथरमा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु।

12Shares

चैत २७ धनकुटा ।

१२ औ राष्ट्रपति तथा दोस्रो छथर गाउँपालिका स्त्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ ।

सिधुवा बजारको खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिता गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले आज उद्घाटन गर्नुभयो ।

गाउँपालिकाका १० सामुदायिक र ३ निजि गरी १३ मा.बि.हरुका ४ सय भन्दा बढी छात्र–छात्राहरुले खेलमा भाग लिईरहेका छन् ।

गाउँपालिकाको आयोजना तथा श्री सरस्वती मा.बि.सिधुवाको सह–आयोजनामा सम्पन्न हुने खेलका लागि राष्ट्रिय निर्णायक सुरेश रिजालको संयोजकत्वमा ८ जनाले निर्णायकको भुमिका निर्वाह गरिरहनु भएको छ ।

२ दिन सम्म चल्ने उक्त खेलमा एथ्लेटिक्स,कबड्डी र भलिबल गरी ३ बिद्याका १५ वटा खेलहरु सम्पन्न हुनेछन् ।

खेलमा १ सय,२ सय,४ सय ८ सय १ हजार ५ सय र ३ हजार मिटरको दौड,लङ जम्प,त्रिपल जम्प,हाई जम्प,सटपुट,ज्याब्लिङ्ग थ्रो,४ गुणा ४ सय र ४ गुणा १ सय मिटरको रिले दौड,कबड्डी र भलिबल खेल हुनेछन् ।

प्रतियोगिताका प्रथम र दोस्रो हुने बिद्यार्थीहरुले बैसाख ३ र ४ गते धनकुटामा हुने जिल्ला स्त्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।

अन्य बिजेता छात्र–छात्राहरुको प्रोत्साहनको लागि गाउँपालिकाले बेग्लै पुरस्कारको ब्यबस्था गरेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष,भीमकला श्रेष्ठ,निमित्त प्रशासकीय अधिकृत नेत्रबहादुर श्रेष्ठ तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

12Shares